26/06/2020
Department of Nepali
Nar Bahadur Bhandari Degree College, Tadong
Study Mattarials No 12
Date : 26 JUNE, 2020
for BA II Semester
By. Dr. Parasmani Dangal, Asst. Prof, Nepali
नेपाली शुद्ध लेख्न सिकौं
नेपाली हाम्रो भाषा हो। हामी सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु जरूरी छ।
प्रश्न उठ्छ, नेपाली कसरी लेख्ने? जवाफ सजिलो छ– जसरी बोलिन्छ, त्यसरी। हामी भन्छौं– म पुस्तक पढ्छु। भाइ खेल्न नपाएर ठुस्केको छ। आफू पास भएको सुनेर बहिनी खुशीले नाची। यसैगरी लेख्ने। शब्दको क्रम नबिगार्ने। सबैले बुझ्ने, प्रचलित, सजिला शब्द प्रयोग गर्ने। एउटा वाक्यमा एउटा कुरा मात्र भन्ने। धेरै कुरा जोडेर वाक्य लामो नपार्ने। आफूलाई लागेको कुरा साथीलाई भनिरहेको छु भन्ठानेर लेख्ने। यसो गर्दा लेख्न सजिलो हुन्छ। लेखाइ सरल र स्वाभाविक हुन्छ। यसरी लेखेको धेरैले बुझ्छन्। त्यसले धेरैको मन छुन्छ। अनि के चाहियो?
कुनै पनि भाषा लेख्ता वा बोल्दा मूलतः दुई कुरामा ध्यान दिनुपर्छ– शब्द र वाक्य। हरेक शब्दको निश्चित अर्थ हुन्छ। त्यसैले आफूले प्रयोग गर्न लागेको शब्दको अर्थ के हो भन्नेबारे सबैभन्दा पहिले आफैं स्पष्ट हुनुपर्छ। अर्थ नै राम्ररी नबुझी शब्द प्रयोग गर्न हुँदैन। त्यसो गरियो भने कुरो बिग्रन्छ। शब्दको अर्थ थाहा छैन भने शब्दकोश हेर्ने गर्नुपर्छ। शब्दको प्रयोगमा प्रायः कस्ता खालका असावधानी र गल्ती हुन्छन् अनि तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे ‘शब्द’ खण्डमा बताइएको छ।
शब्दहरू मिलेर वाक्यको निर्माण हुन्छ। शब्दको अर्थ अवश्य हुन्छ तर वाक्यको अंग नबनेसम्म त्यो सक्रिय हुँदैन। ‘चरो’ मात्रैको पनि अर्थ छ, परन्तु त्यो निष्क्रिय छ। वाक्यमा उनिएपछि मात्र त्यसले भूमिका पाउँछ र सक्रिय हुन्छ। त्यो उड्न सक्छ, बस्न सक्छ, खस्न सक्छ, देखिन सक्छ, चिर्बिराउन सक्छ, आउन वा जान सक्छ, राम्रो वा नराम्रो हुन सक्छ, भेटिन सक्छ, हराउन सक्छ, मर्न वा मारिन सक्छ। शब्दलाई सामान्यतः नाम, सर्वनाम, विशेषण, अव्यय र क्रियाका रूपमा वर्गीकरण गर्ने गरिएको छ। विभक्ति आदिले तिनीहरूबीच सम्बन्ध कायम गर्छन्। क्रियाले वाक्यको मियोका रूपमा काम गर्छ; त्यसलाई केन्द्र बनाएर शब्दहरूले आआफ्नो भूमिका सम्हाल्छन्। भावना, कल्पना, विचार, विश्लेषण, सूचना– सबैको अभिव्यक्ति वाक्यबाटै हुन्छ। वाक्यमा प्रायः के–कस्ता कमजोरी हुन्छन् र तिनलाई कसरी सुधार्ने भन्नेबारे ‘वाक्य’ खण्डमा स्पष्ट पारिएको छ। यसै मेसोमा अनुच्छेदबारे पनि चर्चा गरिएको छ।
बोलेको शब्द सुनिन्छ भने लेखेको शब्द देखिन्छ, र पढिन्छ। लेखिने शब्दको निश्चित ढाँचा हुन्छ जसलाई हिज्जे भन्छन्। त्यस ढाँचाले शब्दको दृश्य रूप र व्यक्तित्व प्रकट गर्छ। हिज्जे बिग्रियो भने शब्दको व्यक्तित्व बिग्रन्छ र त्यो विरूप हुन्छ।
हामीले प्रयोग गर्ने शब्द शुद्ध त हुनैपर्छ, वाक्यमा त्यसको अर्थ र आशय ठीकसँग खुलेको पनि हुनुपर्छ। सँगसँगै लेखाइमा नेपालीपन, नेपाली पारा समेत झल्किनुपर्छ। हिजोआज हाम्रो भाषामा कृत्रिमता थपिंदै गएको छ जसले यसलाई बोधो, भद्दा र बिरानो बनाउँदै लगेको छ। ‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा सबै शब्द नेपालीकै छन्, वाक्य र व्याकरण पनि मिलेकै छ तर यसमा नेपाली पारा छैन। त्यसैले यो बोधो, भद्दा र निष्प्राण छ। दिमागमा ठोकिन्छ तर मनसम्म पुग्दैन; पराईले पराईलाई भनेजस्तो लाग्छ। यसको सट्टा ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्ने हो भने त्यो तिक्खर, झरिलो र जीवन्त हुन्छ अनि सहजै मनसम्म पुग्छ। आफन्तले भनेजस्तो लाग्छ। किन भने यसमा नेपालीपन खुलेको छ, नेपाली पारा झल्केको छ। हाम्रा वाक्य सरल, सहज र नेपाली पाराका हुन थालेपछि मात्र स्वादिला हुन्छन्; नेपाली मनमा बस्न र नेपाली जिब्रामा झुण्डिन थाल्छन्। त्यसवेला हाम्रो भाषाको रौनक नै अर्को हुनेछ।
अब हिज्जे सिकौं
अ. नाम अथवा संज्ञा
१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द—
क. सामान्य पुलिङ्गी शब्द । जस्तै— बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति आदि ।
ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— घिउ, भालु, गाउँ, हिउँ आदि ।
ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— हिंड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि ।
अपवाद— दाईं, लडाईं, बसाईं आदि ।
२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द—
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै— गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, माइजू, भाउजू आदि ।
ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि ।
ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, नेपाली, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।
घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै— दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, परियारजी आदि ।
ङ. भाव (धर्म), सम्बन्धी (धर्मी) र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जङ्गली आदि ।
आ. सर्वनाम
१. क. तपाईं, आफू, तँ, म, जो, त्यो आदि र तिनका विभक्तियुक्त रूप सर्वनाम हुन् । जस्तै— जो, जसले, जसलाई, जसबाट, जसदेखि, जसको, जसकी, जसमा, जुन, जे, जुनसुकै, जोसुकै, जेसुकै आदि ।
ख. सर्वनामबाट विशेष प्रत्यय लागी विभिन्न रूप बन्छन् । जस्तै— त्यो, त्यत्रो, त्यस्तो, त्यसरी, त्यस्तरी, त्यतिको, त्यहाँ, त्यहीं, तहिले, तब, तसर्थ आदि ।
२. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।
विशेष : सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता संक्षिप्त रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहाँ, यहाँ, उहाँ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।
इ. विशेषण
१. क. स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै— काली, गोरी, राम्री, राजी, धनी, नामी, जाती आदि ।
ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।
२. सामान्य विशेषण प्रकरण हेरी ह्रस्व दीर्घ दुवै हुन्छन् । जस्तै— पिरो-पीरो, तितो-तीतो, अमिलो-अमीलो, अलिकति-अलीकति आदि ।
३. संख्यावाचक शब्दमा आउने इकार दीर्घ हुन्छन् । जस्तै— बीस, तीस, बत्तीस, चौंतीस, चालीस, त्रिचँलीस, बाईस, तेईस, उन्नाईस आदि ।
संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा-दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।
ई. क्रियापद
१. धातुमा छ, छन्, छु, छौं, ए, एँ, यो, ई आदि प्रत्यय लागेर क्रियापदहरू बन्दछन् । जस्तै— बस्छ, बस्छन्, बस्छु, बस्छौं, बसे, बसें, बस्यो, बसी आदि ।
क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।
२ विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरूँ, जाऊँ, आऊ, बचाऊ आदि ।
३. क्रियापदका स्त्रीलिङ्गी रूप जान्छे, गई, जान्छिन्, गइन्, जाली, जाउली, गइछ, गएकी थिई, गइथी, गइथ्यौ, जान्थ्यौ, गएकी थिएँ, जाँदै थिएँ आदि हुन्छन् । बहुवचन वा आदरमा भने पुलिङ्गका क्रियापद जस्तै हुन्छन् । जस्तै— गए, गएका थिए, गएथे≤ जानुहुन्छ, जानुभयो आदि ।
४. सकर्मक क्रियामा कर्मवाच्य र अकर्मक क्रियामा भाववाच्यको पनि प्रयोग हुन सक्छ । जस्तै— म पुस्तक पढ्छु-मबाट पुस्तक पढिन्छ । म मस्तसँग सुतें-आफू मस्तसँग सुतियो ।
५. क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै— पाक्छ-पाक्तछ-पाक्दछ । जाँच्छ-जाँच्तछ-जाँच्दछ । राख्छ-राख्तछ-राख्दछ । हाँस्छ-हाँस्तछ-हाँस्दछ आदि ।
ख. अन्त्यमा अन्य अक्षर रहँदा भने द मात्र विकल्पले जोडिन्छ । जस्तै— माग्छ-माग्दछ । बुझ्छ-बुझ्दछ । हान्छ-हान्दछ । बोल्छ-बोल्दछ । रम्छ-रम्दछ आदि ।
ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै— जान्छ, खान्छ, रुन्छ आदि ।
विशेष ः लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होऔं, होओस्, होउँला आदिका संक्षिप्त रूप ली, भै, भो, खान्न, गर्देउ, भन्देउ, ≈वौ, होस्, हुँला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।
उ. अव्यय
१. सामान्यतः अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन् । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।
२. ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै— राम्ररी, बेसरी, बराबरी≤ भकभकी, खलखली, ≈वाल≈वाल्ती आदि ।
ऊ. विशेष शब्दविचार
१. संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।
२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— गाउँ, खेत, भुइँ, सास, नाइके, रगत, आकाश÷अकास, वर्षा÷बर्खा, वास-बास, शीतल-सीतल आदि ।
३. अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।
४. अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार-सिकार, होश-होस, शेयर-सेयर, गरीब-गरिब, स्कूल-स्कुल, छूट-छुट, कानून-कानुन, कार्टून-कार्टुन, जवाफ-जबाफ आदि ।
५. झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै— अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि ।
६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै— खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, फूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।
७. नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै— स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।
अपवाद : पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।
८. क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ । जस्तै— चञ्चल, घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।
ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ । जस्तै— अंक-अङ्क-अङ्क, शंख-शङ्ख, गंगा-गङ्गा-गङ्घा, संघ-सङ्घ-सङ्घ आदि ।
ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै— संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।
घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइँदैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै— हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।
अपवाद ः अंग्रेजी÷अङ्ग्रेजी आदि ।
९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै— तँ, कहाँ, जहाँ, यहाँ, गएँ, खाएँ, छायाँ, दायाँ, बायाँ आदि ।
ख. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ । जस्तै— भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।
१०. एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै— सक्खर, सुक्खा, नत्थी, पट्ठो आदि ।
ऋ. पदयोग, पदवियोग
१. समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति, छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, चरीनङ्ग्रे आदि ।
२. क. समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेखिन्छन् । जस्तै— परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
अपवाद— विश्वविद्यालय, महाविद्यालय आदि ।
ख. व्यक्तिवाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेखिन्छन् ।
३. एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।
४. छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै— भनी सक्यो, गरी दियो, गएँ हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।
विशेष ः कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन् । जस्तै— हुनपुग्यो, हुनपुगें, बन्नपुगे≤ भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।
५. विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन् । जस्तै— ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।
६. विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै— मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।
७. उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै— मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, झैं, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।
(प्रस्तुत सामग्रीको तयारी श्री शरद्चन्द्र बस्ती, गोपाल पाँडे असीम र हृदयचन्द्रसिंह प्रधान का पुस्तकहरूबाट विद्यार्थीहरूलाई सजिलो होस् भनेर गरिएको हो।)
यहाँ श्री चन्द्रसिंह श्रेष्ठले लेख्नु भएको कविताले पनि हामीलाई हिज्जे र शुद्धलेख्न सिकाउँछ।
संक्षिप्त नेपाली शुद्धाशुद्धि ज्ञान
(अनुष्टुप् छन्दमा)
चन्द्रसिंह श्रेष्ठ
पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।
नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।
धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।
भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।
नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।
स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।
पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।
अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।
तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।
सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।
सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।
विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।
सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।
संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।
अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।
दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।
‘गरेर बक्सियो’ भन्दा लेखिन्छ गरी बक्सियो
‘गर्यो’को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।
लेखी देऊ भने केही ‘लेखेर केही देऊ’ हो ।
लेखिदेऊ भनेदेखि ‘लेख्ने काम गरिदिनु’ हो ।।१८।।
लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।
विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।
स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।
अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।
अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै ‘राम्रो गरी’ बाट राम्ररी दीर्घ भैगयो ।।२३।।
अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।
अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।
शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।
व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।
विभक्ति जतिका चिन्ह जोडेर लेख्नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।
भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।
जानेछ यसरी लेखे ‘जाला’ भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो ‘कोही जानेवाला’ छ नै भनी ।।३०।।
विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्नु अलग्ग नै ।।३१।।
छुट्टयाई लेख्नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।