11/05/2026
धनपालथान गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण
मोरङको धनपालथान गाउँपालिकाले बहुक्षेत्रीय पोषण सेवा विस्तार कार्यक्रमअन्तर्गत “पोषण मैत्री तथा अपाङ्गता मैत्री स्थानीय तह घोषणा” अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको समीक्षा तथा सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा गाउँपालिकाभित्र रहेका विशेष क्षमता भएका व्यक्तिहरूलाई गाउँपालिकाको तर्फबाट आवश्यक विभिन्न सहायक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गचछदारको प्रमुख उपस्थिति रहेको थियो। साथै गाउँपालिका उपाध्यक्ष नसीमा बानो, वडा नम्बर १ का वडा अध्यक्ष खाजा हुसैन, वडा नम्बर २ का वडा अध्यक्ष पङ्कज कुमार मण्डल, वडा नम्बर ३ का वडा अध्यक्ष नागेश्वर मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष श्रीराम चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ग्यानन्द सरदार, वडा नम्बर ६ का वडा अध्यक्ष रोजित हुसैन तथा वडा नम्बर ७ का वडा अध्यक्ष सन्तोष कुमार यादवको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जीवछ प्रसाद गचछदारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई समाजको मूलधारमा जोड्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विशेष क्षमता भएका व्यक्तिहरूको जीवन सहज बनाउन आवश्यक सहयोग, पुनर्स्थापना तथा सहायक सामग्री वितरण कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष नसीमा बानोले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नु स्थानीय तहको दायित्व भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विशेष क्षमता भएका व्यक्तिहरूमा आत्मविश्वास बढाउने तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापन, पुनर्स्थापना तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।