29/03/2023
आदरणीय अभिभावक ज्यू
सादर नमस्कार 💕🙏🙏
वार्षिक परीक्षा सकेपछि सबै कक्षाका नानी बाबुलाई उमेर र शारीरिक अवस्थाकाे ख्याल गर्दै निम्न कार्य गर्नाले Socialization र Social inclusion मा निकै ठुलाे मद्दत पुग्ने देखि साभार गरेका छौँ:
हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिएको छ | यसपछि उनीहरूलाई विद्यालय शुरु नहुन्जेल सम्मलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछौँ :
-कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला ; लुगा धुन लगाउनु होला |
- बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला |
- बिहान / बेलुका आफूसङ्गै आफ्नो खेतबारीतिर डुलाउन लैजानु होला ; खेतीपाती देखाउनु होला |
- कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला |
- चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला |
- चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै खोला ,नहर तथा कोशीमा स्नान गर्न लैजानु होला |
- गाँउतिर पाइने काफल , बयेर , अमिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली गेडी , चर अमिलो , निमपत्ता , बडहर , सिमललगायतका फलफूलहरु चिनाउनु होला , खान दिनुहोला | ( खालि बजारिया स्याउ , सुन्तला , केरातिर बल नगराउनु होला )
- कम्तीमा दुइचार छाक आटो , पिठो , ढिडो , उसिनेको , पोलेको र भुटेको खानेकुराहरु बनाएर खुवाउनु होला | ( बोइलरको मासु र भाततिर बल नगर्नु होला )
- सकेसम्म मोबाइलमा झुण्डिन नदिनु होला | मोबाइलमा के कस्ता एपहरु चलाएका छन , ती कुरा चेक गर्नु होला | र टि भी का राम्रा कार्यक्रमहरु हेर्न लगाउनु होला तर अनावश्यक सिरियल हेर्नबाट रोक्नुहोला |
- केही राम्रा कथाका किताबहरु पढ्न लगाउनुहोला |
- कुनै घरपालुवा जनावरको स्याहार सुसार गर्न लगाउनुहोला |
- आठ , नौ र दशमा पढ्नेले म फलानो देश जाने हो भन्ने मानसिकता बोकेका छन , यो नै हाम्रो लागि दूर्भाग्य हो | यो मानसिकता लाई रोक्न जरुरी छ |
- महङ्गा चिजबिज नकिनिदिनु होला |
- हाम्रा धेरैजसो सन्तानहरु हामीले सोचेको भन्दा बढी अराजक भएका छन , यसको कारण हामी नै हो भन्ने कुरा आत्मसात गर्दै दु:ख , अभाव र पीडा के हो भन्ने कुराको ज्ञान दिनुहोला |
- सकेसम्म घरभित्र भन्दा घरबाहिर खेल्ने , डुल्ने , घुम्ने र सानोतिनो काम गर्ने अवस्था सृजना गरिदिनु होला |
- अनुशासन ,संस्कार र संस्कृति सिकाउनुहोला ।
धन्यवाद |
-साभार
सामाजिक सन्जालबाट