20/02/2025
प्रेस विज्ञप्ति
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) काठमाडौं विश्वविद्यालय कमिटी, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल अन्तर्गत प्रथम वर्षका आवासीय मनोचिकित्सक माथि भएको मानसिक अत्याचार, यातना र हिंसाजन्य घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल निष्पक्ष अनुसन्धान तथा दोषीहरूमाथि कारबाहीको माग गर्दछौ।
यो घटना विशेष रूपमा गम्भीर रहेको छ, किनभने विश्वविद्यालयको मनोचिकित्सक विभागका प्राध्यापक एवं चिकित्सकहरूद्वारा आवासीय मनोचिकित्सकहरू माथि मानसिक हिंसा, अपमानजनक व्यवहार र यातनाको शृङ्खला जारी राखिएको पाइएको छ। यस्तो दुर्व्यवहारका कारण एक जना चिकित्सक आत्महत्याको प्रयास गर्न बाध्य भएका छन्, जसप्रति अनेरास्ववियू घोर निन्दा व्यक्त गर्दै यसलाई नेपालको संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्ने अधिकार) र अन्तर्राष्ट्रिय मानव अधिकार ऐनको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ।
यस घटनाका दोषीहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानूनी कारबाही सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिन्छ। विश्वविद्यालयले आवासीय चिकित्सकहरूका लागि सुरक्षित कार्य वातावरण सिर्जना गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ, जसमा मनोवैज्ञानिक सुरक्षा, सम्मानजनक व्यवहार, र उचित मार्गदर्शनको व्यवस्था अनिवार्य रूपमा लागू गरिनुपर्छ। मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, शैक्षिक संस्थाहरूले यसलाई मानव अधिकारको अभिन्न अंगका रूपमा स्वीकार गर्न आवश्यक छ।
यस्ता तानाशाही प्रवृत्ति र विषाक्त कार्यसंस्कृतिलाई अन्त्य गर्न नसके अनेरास्ववियूले आन्दोलनात्मक कदम चाल्न बाध्य हुने चेतावनी स्पष्ट रूपमा दिन चाहन्छौ। साथै, सम्पूर्ण प्रगतिशील विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई अन्यायविरुद्ध एकजुट हुन आह्वान गर्दछौ।
यो घटनाले मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा नै संस्थागत हिंसा व्याप्त रहेको वास्तविकता उजागर गरेको छ। अनेरास्ववियूले न्यायको सुनिश्चितताका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालय प्रशासनको इमानदार पहल र सहयोगमा विश्वास व्यक्त गर्दछौ।
हार्दिक अभिवादन सहित !
Ramkumari Jhakri Ramkumari Jhakri